काठमाडौं। उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने लाई लक्षित गर्दै विदेशमा ठूला काण्ड गरेर ठूलो नेता बन्न खोज्ने प्रवृत्ति राजनीतिमा देखिएको टिप्पणी गरेका छन्।
विश्व निकेतन माध्यमिक विद्यालयको ७९औं वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै उनले हालको राजनीतिक परिप्रेक्ष्यमा समाजका लागि अयोग्य मान्छेहरू राजनीतिमा आइरहेको भन्ने धारणा स्थापित गर्न खोजिएको बताए।
'यहाँ अनेकौं मान्छे आउँछन्, चटकेहरू पनि आउँछन्। विदेशमा गएर ठूला काण्ड मच्चाएर नेपाल फर्किने अनि ठूलो नेता बन्ने प्रवृत्ति नयाँ होइन। यस्ता मान्छेहरू आइरहेकै छन्। यदि तपाईंहरूले सही निर्णय गर्न सक्नुभएन भने, हामीले संघर्ष गरेर प्राप्त गरेका अधिकारहरू सुरक्षित र सशक्त बनाउन सकिँदैन। त्यसैले जनताले सचेत भएर सही प्रतिनिधि छान्नुपर्छ,' उनले भने।
राजनीति जनताको सेवा गर्ने सबैभन्दा प्रभावकारी माध्यम भएको उल्लेख गर्दै नेता सिंहले अरूको प्रभावमा नपरी सही र गलत छुट्याएर निर्णय गर्नुपर्ने बताए।
Comments
Post a Comment